काठमाण्डौ – युट्युव मार्फत चर्चामा आएका झापा दमकका बाल गायक अशोक दर्जीको घर बन्ने निश्चित भएको छ । अशोकको पहिलो गीत रेकर्ड गर्न सहयोग गर्ने गायक तथा संगितकार टंक बुढाथोकीले जग्गा धनी अनन्तराम रिजाललाई चेक हस्तान्तरण गरेसँगै अशोकको घर बन्ने निश्चित भएको हो ।
अशोकका लागि घर निर्माण गर्न दमक नगारपालिकाको वडा नम्बर २ भालुकुडीमा आइतबार दश धुर जग्गा खरिद गरिएको छ । घर निमाणका लागि आवश्यक जग्गा खरिद गर्नभनि काठमाण्डौं देखी गायक बुढाथोकी झापा आएका थिए । जग्गा खरिदका क्रममा घर निमाण समितिका अध्यक्ष पूर्ण वाइबा, सचिव जिवन चुडाल, कोषाध्यक्ष डिजे रुपक, लगायतको उपस्थिति रहेको थियो ।
घर निर्माणकार्य यसै साताबाट शुरुहुने डिजे रुपकले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेकै कारण उनको घर बनाउने अभियानले तिब्रता पाएको हो ।
बाँसघारीको विचमा झिक्राले बनेको घरमा बस्दै कस्टकर जिवन विताइरहेका उनलाई घर निर्माणमा सहयोग गर्न चाहानेहरुले सहयोग गर्न सक्ने गायक बुढाथोकीले जानकारी दिनु भयो ।
१२ बर्षीय अशोकले गाएको गित युट्युवमा भाइरल भएपछि उनको आवाजमा धन विनाको मन ठूलो कि मन विनाको धन नामक गीत रेकर्ड भैसकेको छ । यो रिपोर्ट तयार पार्दा सम्म उक्त गित ६७ लाख पटक हेरिएको छ । अशोकलाई गित रेकर्डका लागि झापा दमकका डिजे रुपकले काठमाण्डौं लगेका थिए ।





