गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । नेपालको गणतन्त्र दिवसको अवसर पारेर नेपाली दूतावास लन्डनले ‘गणतन्त्र दिवस समारोह र नेपाल डेभलपमेन्ट कन्फरेन्स’ को भव्य रुपमा सम्पन्न गरेको छ । स्वदेसी तथा विदेशी गरि झन्डै ३ सय भन्दा बढीको सहभागिता रहेको उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानमा नेपाल सरकारले अहिले आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरेको बताएका थिए । बेलायतका पूर्व मन्त्री टोनी बाल्डरीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र बेलायती पूर्व मन्त्री टोनी बाल्डरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
स्वागत मन्तव्य प्रस्तुत गर्दै राजदूत सुवेदीले गणतन्त्र दिवसको उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुप्रति शुभकामना ब्यक्त गरेका थिए । राजदूत सुवेदीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानमा नेपाल सरकारले अहिले आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरेको बताए । आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डालाई सफल बनाउन सरकारको तर्फबाट स्पष्ट प्रतिबद्धताका साथै सार्थक पहलहरु पनि सुरु भएको राजदूत सुवेदीले बताए । प्रमुख अतिथी बेलायती पूर्व मन्त्री टोनी बाल्डरीले बेलायत र नेपालबीच सदियौंदेखि रहंदै आएको द्धिपक्षीय सम्बन्ध बहुआयमिक रहेको बताए । नेपालमा नयां संविधानको सफल कार्यान्वयन, संघीय शासन व्यवस्थाको सुरुवातसंगै आर्थिक विकासको युग सुरु हुंदै गरेको प्रसंग उल्लेख गर्दै बाल्डरीले भने, नेपालमा लगानी गर्नका लागि सबैभन्दा उत्तम समय रहेको धारणा ब्यक्त गरेका थिए । गोर्खाहरुको भूमिकाको समेत चर्चा गर्दै नेपालको विकासको लागि बेलायत कटिबद्ध रहने पनि उनले बताएका थिए ।
बेलायती विदेश मन्त्रालयअन्तर्गत दक्षिण एशिया विभागकी उपनिर्देशक लेस्ली क्रेगले समारोहलाई सम्बोधन गर्दै बेलायत नेपाल द्धिपक्षीय सम्बन्धलाई थप उचाई दिन बेलायत सदैव ईच्छुक र प्रतिबद्ध रहेको वताइन् । ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोर्टर र सोसाइटीको नयां अध्यक्ष नियुक्त भएका नेपालका लागि बेलायतका पूर्व राजदूत एन्ड्रु स्पार्कस्ले बेलायत नेपाल सम्बन्ध र सोसाइटीको विगत तथा भावी कार्यक्रमहरुबारे उल्लेख गरेका थिए ।
सोहि अवसरमा बेलायतस्थित प्राध्यापक डा. सुर्यप्रसाद सुवेदीलाई नेपाल सरकारको तर्फबाट सम्मान गरियो । गत वर्ष बेलायती महारानी एलिजावेथबाट प्रतिष्ठित क्युसी (क्विन्स् काउन्सेल) मा नियुक्त हुन सफल भएको तथा बेलायत र नेपालबीचको द्धिपक्षीय सम्बन्धलाई सुदृढ गर्ने कार्यमा महत्वपुर्ण योगदान वापत सुवेदी सम्मानित भएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्राध्यापक डा सुवेदीले बेलायती महारानीबाट क्युसीमा नियुक्त गरेर आफुलाई गरिएको सम्मानलाई आफुले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई बेलायतका तर्फबाट गरिएको सम्मानका रुपमा लिएको बताए ।
नेपालको विकास सेक्टरमा क्रियाशिल रहेका बेलायती च्यारिटी संस्थाहरुको साझा नेटवर्क ब्रान्गो ( ब्रिटेन एण्ड नेपाल एनजिओ ) को औपचारिक रुपमा लञ्च गरिएको थियो । कार्यक्रममा अ ट्राभल गाइड टु धौलागिरी नामक पुस्तकको समेत विमोचन गरियो । सोही अवसरमा चित्रकार सम्झना राजभण्डारीको नेपालसम्बन्धी दुई दर्जन भन्दा बढी चित्रकला प्रदर्शनी गरिएको थियो । कार्यक्रममा रेजिएस किपर रोयल बोटानिकल गार्डेन्स, इडिनबराका साइमन मिल्नेले नेपाल तथा बेलायतबीच बोटानिकल (बनस्पति) संग सम्बन्धित क्षेत्रमा रहेको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यस्तै, एलिसन मास्र्टनले ब्रिटेन नेपाल सोसाइटी र नेपालमा यसको सहभागिताबारे तथा युनिभर्सिटी अफ लण्डनका नेपलिज तथा हिमालयन स्टडिज विभागका प्राध्यापक डा माइकल हटले नेपालको राजनीतिक विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
लिभरपुल जोन मुर युनिभर्सिटीका डा सारा पार्कर र सिर्जना योञ्जन सिंहले रोल अफ वुमन इन नेपाल शीर्षकको प्रिजेन्टेसन प्रस्तुत गरे भने ग्रेट अर्मोण्ड स्ट्रिट अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन विलियम हार्कनेसले टेलिमेडिसिन एण्ड वर्किंग इन ग्रुपु शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । समारोहका अतिथीहरुको स्वागतमा सपनकुमार राई, बीबी अनुरागी र सितु खरेलले यो नेपाली शिर उचाली बोलको गीत प्रस्तुत गरेका थिए । समारोहको दोस्रो चरणमा प्रिजेन्टेसनहरु सुरु हुनुअघि संिगता गैरे, लिसा सुनार, एलिसा गौचन, कल्पना लिम्बू, श्रेया महर्जन, विभिया श्रेष्ठ, ग्रिष्मा भुषाल र सुस्मिता थापासहितका कलाकारहरुले विभिन्न मौलिक नेपाली लोकनृत्यहरु प्रस्तुत गरेका थिए । उपस्थित प्रमुख अतिथी, विशेष अतिथी,लगायत कलाकारहरुलाई राजदूत सुवेदीले मायाको चिनो सम्मानस्वरूप प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी
यो नेपाली शिर उचाली सपन कुमार राई, बीबी अनुरागी र सितु रिमाल खरेल





