काठमाडौं। भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा दिएको अभिव्यक्ति विवादस्पद भएपछि माफी मागेकी छन्। विदेशमन्त्री स्वारजले ट्विटरमार्फत माफी मागेकी हुन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा लाखौं भारतीयलाई सम्वोधन गरेको अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिको सामाजिक संजालमा ट्विटरमा चर्को विरोध भएपछि उनले आफ्नो गल्तीलाई स्वीकार गर्दै सार्वजनिक रुपमा माफी मागेकी हुन्।
सुष्माको सो अभिव्यक्तिप्रति नेपालका एक सांसदसहित अन्य ट्विटर प्रयोगकर्ताले मोदीले जनकपुरमा भारतीयलाई नभइ नेपालीलाई सम्वोधन गरेको बताएपछि स्वारजले माफी मागेकी हुन्। सुष्माले ट्विट गर्दै भनेकी छन्, ‘मबाट गल्ती भएको छ। उक्त गल्तीकालागि म माफी माग्छु।’
मोदी सरकारले चार वर्ष पूरा गरेको अवसरमा आयोजित एक पत्रकार सम्मेलनमा सुष्माले भनेकी थिइन्, ‘नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ ।’ सुष्मा मोदी सरकारको ती वरिष्ठ मन्त्री मध्येकी हुन् जो सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्
रासस