काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले अधिनायकवादी चरित्र देखाउने सम्भावना बढेर गएको दावी गरेका छन्।
नेता सिटौलालले शक्ति सन्तुलन र लोकतान्त्रिक मूल्य, मान्यताको दृष्टिले पनि सरकारले सही बाटो लिने सम्भावना नदेखिएको गम्भिर आरोप लगाए। शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिति काँग्रेसकाे अबको गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थालेको भन्दै आपत्ति जनाए। नेता सिटौलाले सबै प्रदेशमा समेत काँग्रेस शक्तिमा नरहेकाले काँग्रेस कार्यकर्ताहरुको मनोबल गिर्न गएको स्मरण गराए।
काँग्रेस नेता सिटौलाले संचारकर्मीले समेत सत्तापक्षलाई मात्रै साथ दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मुलुकको सबै क्षेत्र सत्तापक्षको प्रभावमा परेको भन्दै त्यसलाई निष्तेज पारेर मुलुकलाई सही बाटोमा अघि बढाउन काँग्रेसकाे विकल्प नरहेको दावी समेत गरे। नेता सिटौलाले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी पनि काँग्रेसले मात्रै पूरा गर्न सक्ने धारणा राखे।
डिसी नेपाल





