भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणमा भएको खर्चलाई लिएर सत्तारुढ दलका नेता नै असन्तुष्ट भएपछि विवाद भएको छ । सत्तापक्षीय सांसद डिम्पल झाले नै मन्त्रीले अनियमितता गरेको आरोप लगाएकी छिन् ।
जनपरिचालन उपसमितिको मूल्यांकन बैठकमा प्रदेश सांसद डिम्पल झाले उपसमिति संयोजक तथा भूमि व्यवस्था राज्यमन्त्री योगेन्द्र राय यादवले अनियमितता गरेको आरोप लगाएपछि विवाद भएको हो । पछिल्लोपटक सर्वसाधारणलाई ओसार्न प्रयोग भएका बसलाई दिने भनिएको खर्च उपलब्ध नगराएको झाको आरोप छ । रोतहटबाट मोदीको नागरिक अभिनन्दनमा ल्याइएका ४० बसलाई खाजाखर्च पाँच हजारका दरले दुई लाख दिने भनिए पनि नपाएको झाले बताइन् ।
जिल्लाबाट बसमा सर्वसाधारण ओसार्ने जिम्मा जनपरिचालन समितिको थियो । समितिका संयोजक भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्रराय यादव थिए । यादवले जनपरिचालनमा लागेको खर्च सार्वजनिक गरेपछि विवाद सिर्जना भएको हो ।
रौतहटबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य डिम्पल झाले राज्यमन्त्रीले अर्थिक अनियमितता गरेको भन्दै मूल्यांकन बैठकमा चर्को आलोचना गरेकी थिइन् । यादवले झाको प्रतिवाद गरेका थिए । उनले बैठकमै झालाई दुव्र्यवहार पनि गरेको स्रोतको दाबी छ ।
भ्रमणका वेला गरिएको नागरिक अभिनन्दनमा दिएको मन्तव्यको विषयलाई लिएर यसअघि मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको पनि आलोचना भएको थियो । त्यस्तै, जानकी मन्दिरको प्रांगणमा राखिएको स्वरूप बिगारिएको नेपाली झन्डामा पनि आरोप–प्रत्यारोप चलेको थियो ।
राजपा नेता सोनलको पनि आलोचना
राजपाको संसदीय दलको बैठकमा दलका नेता जितेन्द्र सोनलको पनि आलोचना भएको छ । उनी मञ्च व्यवस्थापन समितिका संयोजक थिए । तर, मञ्च व्यवस्थापनमा पार्टीका सांसदसँग सल्लाह नै नगरी एकलौटी ढंगमा काम गरेको भन्दै आलोचना भएको हो ।
केही दिनअघि बसेको संसदीय दलको बैठकमा नेता सोनललाई सफाइ पेस गर्न सात दिनको समय दिइएको थियो । सोनलले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सांसदहरूले संसदीय दलको अर्को नेता चयन गर्न दबाब दिएको एक नेताले बताए ।
उनका अनुसार सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग र पर्यटनमन्त्री रामनरेशराय यादवसमेतले सोनलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मोदी भ्रमणको समयमा बारा र पर्साका नेतालाई मात्र पास वितरण गरेको विषयमा पनि मन्त्री सोनलको आलोचना भएको छ ।
नयाँ पत्रिका





