काठमाण्डौ – पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावा (लु)का कारण गएको तीन दिनयता ६५ व्यक्तिको मृत्यु भएको छ ।यो शहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि उनीहरूको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत तीन दिनयता कराँचीको कोरांगी र सोहराब गोथ क्षेत्रबाट १ सय १४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ । इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मंगलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि तातो हावा चलेको छ ।यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् । इदहीका अनुसार लुको कारण ज्यान गुमाउने आफ्नै घरमा कुनै चिकित्सकीय उपचारबिना बस्ने गरेका स्थानीय बासिन्दा रहेका छन् । यस प्रकारका ज्यान गुमाउने सबैभन्दा कम उमेरकामा ६ वर्षीय बालकदेखि बढी उमेरकामा ७८ वर्षीया वृद्धसमेत रहेका बताइएको छ ।





