काठमाडौं। नेपाल महिला संघकी महासचिव धना खतिवडाले संघमा देखिएको विवादलाई आपसी समझदारीबाट टुँगो लगाउनुपर्ने आफूहरुको मागलाई अध्यक्ष उमा रेग्मीले बेवास्ता गरेको आरोप लगाएकी छिन्।
अध्यक्ष रेग्मीले एकलौटी र स्वेच्छचारी ढंगबाट केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयन गरेपछि आफूहरु उक्त निर्णय तत्काल सच्याउनको लागि आग्रह गर्दापनि कुनै सुनुवाई नगरेको महासचिव खतिवडाको गुनासो छ।
आफूहरुले सभ्य र मर्यादित ढंगबाट नै उक्त स्वेच्छचारी निर्णयमा पूर्नविचार गर्न यसअघि नै आग्रह गरेपनि त्यसबारे अध्यक्षले कुनै चासो नदेखाएको उनको आरोप छ।
महासचिव खतिवडा र कोषाध्यक्ष जानकी सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल महिला संघको अध्यक्षज्यूले २०७५ बैशाख २८ गते अत्यन्त स्वेच्छाचारी ढंगबाट केन्द्रीय पदाधिकारी र सदस्यहरुको मनोनयन गरे पश्चात बैशाख ३० गते नै हामीले मर्या्दित ढंगबाट सो निर्णयको पुनर्विचार गर्न आग्रह गरेका थियौँ। साथै, पार्टी नेतृत्वलाई समेत हाम्रो असहमतिका बारे प्रष्ट पारिसकेका छौं। तर हाम्रो शालीन प्रस्तुतिलाई कमजोरी ठानी लोकतान्त्रिक मूल्य र मान्यताको समेत बेवास्ता गर्दै निरन्तर एकलौटी नियुक्तिको शृखंला जारी राखि अध्यक्ष स्वयम सांगठनिक जिम्मेवारीबाट च्यूत हुदै गएको देख्दा हामी दुःखित भएका छौं।”
डिसी नेपाल





