गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । तमुधिं यूकेले आयोजना गर्दै आएको बेलायतवासी नेपालीहरुको वृहत फुटबल प्रतियोगिता “गोर्खा कप” को १६ औं सस्करणलाई विगत भन्दा अझ बढी प्रभावकारी र व्यापक जनसहभागीता जुटाउने तयारि भइरहेको छ । गत आइतबारका दिन मीचेटस्थित तमुधिं यूकेको भावनामा संस्थाका अध्यक्ष्य ज्ञाम गुरुंगको अध्यक्ष्यतामा बसेको पत्रकार सम्मेलन मार्फत गोर्खा कपको बारेमा जानकारी गराइएको थियो । आगामी आइतबार मे २७ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुने १६ औं गोर्खा कपको तयारी अन्तिम चरणमा पुगिसकेको छ । गोर्खा कपको प्रतियोगिता फिफाकै नियम अनुसार खेलाइने तमुधिं यूकेले जनाएको छ । यस वर्षको गोर्खा कपमा कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । ३२ नन भेट्रान (मेन क्याटेगोरी) र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा हङकङ, बेल्जियम र हल्याण्डबाट समेत खेलाडी आउने भएका छन् ।
१६ औं गोर्खा कपको पुरस्कार राशी वृद्धि गरिएको छ जसमा नन भेट्रान (मेन) वीनरको पुरस्कार राशी २५ सय पाउण्ड छ । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र दोश्रो हुनेले ८०० पाउण्ड पाउनेछन् । उक्त दिन गैर आवासीय नेपाली संघ बेलायतले निशुल्क स्वास्थ्य शिविर राख्ने भएको छ । खानाका कम्तीमा दश वटा स्टल र हस्तकलाका ४० बढि स्टल रहने बताइएको छ । करिब एकसय २० जना स्वयंसेवक खटिनेछन् भने कार्यक्रम गर्न करिब ४५ हजार पाउण्ड खर्च हुने छ । सो इभेन्ट हेर्नका लागि १० हजार भन्दा बढि दर्शक उपस्थित हुन सक्ने भएकाले आपतकालिन सेवा जस्तै एम्बुलेन्स, प्रहरी बल, टवाइलेट र कार पार्क सुविधा, खाना आदिको व्यवस्थापन भइसकेको जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, महासचिव कृष्ण गुरुङ, कार्यक्रम संयोजक एवं स्पोर्टस सेक्रेटरी क्याप्टेन पिताम्बर गुरुङ, सहसंयोजकहरु कुसाङ गुरुङ र कुमार गुरुङले गोर्खा कपबारे विस्तृत जानकारी दिए । कुसाङ गुरुङ र कुमार गुरुङले टिम क्याप्टेन, मिडियाकर्मी र तमुधिं पदाधिकारीहरुमाझ टिम ड्र गराएका थिए । कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले उक्त गोर्खा कपको विशेष आकर्षणहरुमा एफए कप डिस्प्ले, ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, मार्सल आर्टस, मिलिट्री डिस्प्ले, पञ्चे बाजा, पाइपर धुन, कल्चरल डान्स, खुकुरी डान्स, खाना, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने छन्।
संस्थाका महासचिव कृष्ण गुरुङले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए । बेलायतमा प्रथम गुल्मेली नौ मति पन्चे बाजाको धुन संगै आरम्भ गरिने गोर्खा कप नेपाल र नेपालीकै गौरव बोकेको हुनाले यसलाई सफल पार्नको लागि सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई सहयोग गर्नुहुन अध्यक्ष्य ज्ञाम गुरुंगले अनुरोध गरेका छन् । फोटो – शिव भण्डारी
फोटो – शिव भण्डारी





