धादिङ । कालुपाण्डे मार्गअन्तर्गत मलेखु-धादिङबेँसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका-८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका-३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको छ।
अन्य चार जना घाइतेमध्ये दुईजनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुईजनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।
रासस





