धनकुटा नगरपालिका–६मा एक युवकको शव फेला परेको छ। स्थानीय ३० वर्षीय राजेश श्रेष्ठको शव ‘ल्याण्डफिल्ड साइड’को दक्षिण पश्चिममा रहेको प्रतीक्षालयनजिक आइतबार बिहान फेला परेको हो। ‘शवको प्रकृति हेर्दा हत्या गरेको फालिएको देखिन्छ’, घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक म्यामकुमार बस्नेतले भने, ‘अन्त हत्या गरी यहाँ ल्याएर फालिएको हुनसक्छ।’ सडकभन्दा करिब ५ मिटर तल कोल्टोपरेको अवस्थामा शव फेला परेको हो। राति करिब १ बजे शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल गएको बस्नेतले जानकारी दिए। यसैबीच हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनकुटा–६ का अनिल डंगोल, ईश्वर श्रेष्ठ र धनकुटा–२ का रुमबहादुर मगरलाई नियन्त्रणमा लिएको धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।





