गोर्खा अनलाइन रेडियो यूके,
नेपाली मौलिक लोक संगीतको संरक्षण, प्रवर्द्धन र लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली लोकगीतको इतिहाँसमा पहिलोपटक ‘नेपाल लोक आईडल २०७५’ को आयोजना हुने भएको छ । सार्थक डिजिटल प्रा.लि र जेब्रा क्रियसनद्वारा ‘नेपाल लोक आइडल २०७५’को आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सो पत्रकार सम्मेलनमा लोक दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरु देबी घर्ती, मुना थापा मगर, पूर्णकला बिसी, टिका पुन, बसन्त थापा, शिव हमाल, लगायत थुप्रै चर्चित गायक गायिकाहरुको उपस्थिति रहेको थियो । उक्त ‘लोक आइडल २०७५’ का पहिलो विजयीलाई रु ३० लाख, दोस्रो हुनेलाई रु.१५ लाख र तेश्रो हुनेलाई रु.१० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । देशका सात वटै प्रदेशका विभिन्न स्थानमा अडिशन गरि नव प्रतिभाको खोजी गरिने सार्थक डिजिटलका निर्देशक जीवन पन्तले बताएका छन् ।
अडिसन मार्फत छानिएका प्रतिस्पर्धीहरुलाई टप टेनको लागि काठमाण्डौमा प्रतिस्पर्धा गराइने छ । सार्थक डिजिटल प्रा.लि.द्वारा आयोजित सो कार्यक्रमको प्रोडक्सन सम्बन्धि आवश्यक सम्पूर्ण जिम्मेवारी जेब्रा क्रियशनले लिने भएको छ । नेपाल लोक आईडल २०७५ को कार्यक्रमको समय तालिकाको बारेमा केहि दिनमा सार्वजनिक गरिने भए पनि आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने आइडलका आयोजकहरुले बताएका छन् । लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गरिनेछ भने पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालीम उपलब्ध गराइनेछ । कार्यक्रमको आयोजकहरुमा जीवन पन्त, सुरेन्द्र दाहाल र अनु केसी अधिकारी रहेका छन् ।





