काठमाडाैं । दर्जन बढी बस व्यवसायी समिती रहेको प्रदेश ७ मा कैलाली प्रहरीले एकजना यातायात व्यवसायीलाई पक्राउ गरेको छ। कैलालीको कर्णाली रिभर साईड यातायात समितिका अध्यक्ष धिरज शाही पक्राउ परेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
उनलाई कर्णाली चिसापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिन्डिकेटको पक्षपोषण गर्दै सवारी साधन नचलाउने यातायात व्यवसायी संघका पदाधीकारीलाई पक्राउ गर्न गृहमन्त्रालयको कडा निर्देशन आएपछि प्रदेश नम्बर ७ भरी प्रहरी परिचालित गरिएको छ।
प्रदेशका अधिकांश समितिका पदाधीकारी फोन अफ गरेर बसेका छन। प्रहरीले पक्राउ गर्न थालेपछि कैलाली कञ्चनपुरका समितिका केही पदाधीकारी भारततर्फ भागेका छन्।
प्रदेश नम्बर ७ को कञ्चनपुरमा पवनदुत यातायात, महाकाली यातायात, कैलालीमा सुदूरपश्चिम यातायात, कर्णाली रिभरसाईड यातायात, मालिका यातायात, डडेल्धुरामा उग्रतारा यातायात र डोटीमा शैलेश्वरी यातायात गरी दर्जनौ सार्वजनिक यातायात समितिहरु रहेका छन्। चिसापानीमा पक्राउ परेका कर्णाली रिभर साईडका अध्यक्ष धिरज शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउने तयारी भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए।
त्यस्तै कञ्चनपुरको महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष डम्मर राज पन्त सहित पाँच यातायात व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले माथिको आदेश भन्दै नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सह-कोषाध्यक्ष पन्त सहित पाँच यातायात व्यवसायीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले सरकारले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट खारेजी कार्यक्रम अनुसार यातायात व्यवसायीलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार पवनदुत यातायात व्यवसायी समितिका प्रेस सल्लाहकार महेश राज जोशी, महाकाली टेम्पो व्यवसायी समितिका अध्यक्ष जनक बहादुर चन्द, महाकाली सेती यातायात व्यवसायी समितिका निर्वतमान अध्यक्ष दान सि.ह धामी र यातायात मजदुर संघका उपाध्यक्ष सुरेन्द्र प्रसाद अवस्थीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।
पक्राउ परेका यातायात व्यवसायीले महासंघको पुर्व घोषित कार्यक्रम अनुसार सबै गाडी धनीले आ–आफ्नो घरमा बस राखेर सरकारको निर्णयको बिरोध जनाएको बताए । पवनदुत यातायात व्यवसायी समितिका प्रेस सल्लाहकार महेश राज जोशीले आफुलाई जिल्ला प्रहरी कार्यालयमा काम छ, भन्दै ल्याएको बताए । ‘मलाई तपाईसंग कुरा गर्नुछ, भनेर यहाँ ल्याएको छ’ उनले भने, ‘यहाँ ल्याएर नजरबन्दमा राखिएको छ ।’
महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष डम्मर राज पन्तले विशुद्ध नेपाली जनताको लगानीमा संचालनमा रहेको नेपालको एकमात्र व्यवसाय धारापमा पार्ने षड्यन्त्र स्वरुप आफुहरुमाथी धरकपकट गरिएको बताए । कञ्चनपुरबाट महाकाली र पवनदुत यातायात व्यवसायी समितिले शुक्रबार संचालन गरेनन् । बस संचालन नगर्दा भारतबाट मजदुरी गरि घर फर्किने यात्रु मारमा परेका छन् । उनीहरुले चर्को दोब्बर भाडा तिरेर गन्तव्यतिर जान बाध्य भएका छन् ।





