गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । यहि मे ३ तारिखका दिन भएको बेलायतमा स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका गुरुंगले ३००७ मत प्राप्त गरि विजयी बनेका हुन् । बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका उनी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक हुन् । गुरुङको चुनावी अभियानमा बेलायती प्रधानमन्त्री टेरिजा मे समेत सामेल भएकी थिइन् ।
चुनावी प्रचार प्रसारका क्रममा प्रधानमन्त्री मेले गुरुङलाई विजयका लागि शुभकामना समेत दिएकी थिइन् । आफू विजयी भए बेलायतमा रहेको नेपाली समाजका लागि थप काम गर्ने ‘नेपाली समाजका लागि कम्युनिटी हल उपलब्ध गराउने, नेपाली बालबालिकालाई निशुल्क नेपाली पढाउने र बृद्धहरुलाई अंग्रेजी कक्षाको व्यवस्थापन गर्ने लक्ष्य रहेको बताएका थिए । काउन्सिलरमा विजयी भएपछि स्थानीय समस्या समाधान गर्न प्रयत्न गर्ने प्रतिवद्धता जनाउँदै उनले अंग्रेजहरुको पनि राम्रो सहयोग र समर्थन पाउने विश्वास उनको रहेको छ । नेपालको कास्की घर भएका गुरुङ १३ वर्षदेखि बेलायत बस्दै आएका छन् । कन्जरभेटिभ पार्टीसंग निकै नजिक रहँदै आएका गुरुंगले ‘सरसफाई, व्यवस्थित घर निर्माण, विद्यालयको गुणस्तर वृद्धि, स्वच्छ वातावरण, यातायता व्यवस्थापन, पार्किङ लगायतका मुद्दाहरुमा बढी जोड दिने बताएका छन् ।





