गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । करिब एक दशकको अन्तरालपछि पुन चलचित्र क्षेत्रमा फर्किएका मह जोडीको पछिल्लो चलचित्र ‘शत्रु गाते’ ले देश विदेशमा निकै लोकप्रियता हाँसिल गर्न सफल भएको छ । नेपालमा अत्यधिक सफलता प्राप्त गरिसकेको उक्त चलचित्रलाई बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्ट यूकेले प्रदर्शनीको लागि बेलायतमा ल्याएर सफल प्रदर्शन गरेको छ भने अन्य विभिन्न स्थानहरुमा समेत प्रदर्शनीको तय भैसकेको हो । भर्खरै मात्र बेलायतस्थित अल्डरटको प्रिन्सेस हलमा गरिएको प्रदर्शनमा करिब ५ सय दर्शकले अवलोकन गरेका थिए । पहिलो शो को सफल प्रदर्शन पछि अन्य स्थानहरुमा पनि थप प्रदर्शनीको लागि हौसला मिलेको आयोजकले बताएका छन् ।
चलचित्र प्रदर्शन गर्नु अघि भर्खरै मात्र निधन भएकी चलचित्रको निर्मातामध्येकी एक तथा कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदीको स्मरणमा शोक व्यक्त गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो । महजोडीले बनाएको चलचित्र शत्रु गतेलाई प्रदिप भट्टाईले निर्देशन गरेका हुन् । उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौडेल, अन्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारको अभिनय रहेकोछ । एघार वर्षअघि महको ब्यानर महसञ्चारबाट फिल्म ‘जे भो राम्रै भो’ बनाएपछि चलचित्र निर्माणबाट भूमिगत भएका यो जोडीले नयाँ फिल्म ‘शत्रु गते’ को निर्माण गरेको हो । देशको प्रतिकूल अवस्थाका कारण फिल्म निर्माणको क्षेत्रमा आफूहरुले विश्राम लिएको कलाकार हरोवंश आचार्यले बताएका छन् ।





