काठमाण्डौ-निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको पटक-पटक नाम जोडिन्छ । यी दुई प्रायः सँगै हुन्छन् । एकपछि अर्को प्रोजेक्टमा यी निर्देशक र अभिनेत्रीको सहकार्य भइरहेको छ ।
सुदर्शनले पूजा विना फिल्म निर्माण गर्नै छाडिसके । उता पूजाले पनि सुदर्शनको निर्देशनभन्दा बाहेक अन्य फिल्ममा काम गरेकी छैनन् ।
यसकारण पनि लामो समयदेखि यी दुई प्रेममा रहेको चर्चा छ । तर, उनीहरु एकअर्कालाई साथी मात्र बताउँछन् । ‘मधुमास’, ‘प्रेमगीत’, ‘चंखे शंखे पंखे’, ‘म यस्तो गीत गाउँछु’ फिल्ममा सुदर्शनले पूजालाई नायिकाको रुपमा लिएर काम गरिसकेका छन् ।
यी दुईले ‘अझैपनि’ नामक फिल्ममा स्क्रिन साझेदारी समेत गरे । रियल र रिल दुवैमा यो जोडीलाई दर्शकले औधि रुचाएका छन् । तर, प्रेममा भने हुँदै नभएको दाबी पूजा र सुदर्शनको छ ।
सोमवार अभिनेत्री पूजा शर्माको जन्मदिन हो । गएको वर्षको जन्मदिनमा सबैको सामुन्ने गुलाबको फूल दिएर ‘बर्थ डे’ विस गरेका सुदर्शनले यस पटक भने फेसबुकमा गज्जबको स्टाटस कोरेका छन् । उनले कविताको शैलीमा सुन्दर ढंगबाट पूजालाई ‘बर्थ डे’ को शुभकामना दिएका छन् ।
सुदर्शन र पूजा निर्मित नयाँ फिल्म ‘रामकहानी’ यसै वर्षको भदौ २२ गते रिलिज हुँदैछ । यसलाई सुदर्शनले निर्देशन गरेका हुन् भने पूजा र आकाश श्रेष्ठ लिड रोलमा छ । पूजाको जन्मदिनको अवसर पारेर सोमवार दिउँसो यस फिल्मको पहिलो गीत सार्वजनिक हुँदैछ ।





