नयाँदिल्ली: भारतको उत्तर प्रदेश राज्यमा बर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो ।
उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले बताएको छ ।
उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि बर्षासहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘अहिलेसम्म प्राप्त विवरण अनुसार आग्रामा आठ जनाको मृत्यु भएको छ भने चार जनाको मथुरामा र दुई जनाको फिरोजावादमा मृत्यु भएको छ,’ एक अधिकारीले भने ।
विनाशकारी हावाहुरीले ताजमहलमा समेत क्षति पुर्याएको छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।
ताज महल भारतको ऐतिहासिक प्राचिन सम्पदा हो । यो विश्वकै सात आश्चार्य मध्येको एक सम्पदाको रुपमा चिनिन्छ । यो विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा पनि हो ।
‘गत मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्शानी भएको छ, त्यसैगरी अर्को ठाँउमा रहेको अर्को पोलमा पनि क्षति पुगेको छ,’ एक अधिकारीले भने ।
भुइँतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमहरूले विनाशकारी हावाहुरी र बर्षाका कारण पश्चिमी राजस्थान राज्यमा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् ।
एजेन्सी





