Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
बुटवल । दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन् ।
रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो ।
मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन् । माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिनदेखि नै यातना पाएकी उनी सहनै नसक्ने भएपछि प्रहरीमा उजुरी दिएकी हुन् । ‘बिहे गरेर घर आएको तीन दिनबाटै पिटाइ खाएकी हुँ’, उनले भनिन्, ‘सहनै नसक्ने भएपछि प्रहरीलाई खबर गरें ।’
मादकपदार्थ सेवन गर्ने श्रीमानले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ । बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन् । पहिलोपटक फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन उनी उजुरी बोकेर इलाका प्रहरी कार्यालय सालझण्डी पुगेकी थिइन् । आठौं पटकसम्म प्रहरी चौकीमा पुग्दासमेत उनले न्याय पाएकी छैनन् ।
कक्षा १० पढ्दै गर्दा बिहे गरेकी उनलाई घरबाटै निस्कन यसअघिदेखि नै धम्की दिँदै आएका थिए । विदेशमा रोजगारी गर्ने श्रीमान्ले मदिरा खाएर अभद्र व्यवहार गर्दा परिवारका अन्य सदस्यले झन् उस्काएपछि थप पीडामा परेकी हुन्। दुई दिनदेखि आफन्तको घरमा आ श्रय लिएकी उनले आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन माग गरेकी छन् । ‘प्रहरीमा पुग्दा मिलेर बस्नू भन्दै पठाउँछन् । घरमा टिक्ने अवस्था भएन’,–उनले भनिन्। श्रीमानले केही समयअघि गर्भको बच्चा मार्ने औषधि खान भन्दै कुटपिट गरेपछि उनी थप समस्यामा परेकी छन् । ‘पेटको बच्चा मारेर घर छाडेर जा’, श्रीमानको भनाइ उद्धृत गर्दै उनले भनिन् ।
आठौं पटक प्रहरीमा पुगेकी उनलाई प्रहरीले नै मेलमिलाप गर्न भन्दै वडा कार्यालयमा पठाएको थियो । तीन दिनदेखि मेलमिलाप गराउने भन्दै छलफल भइरहेको छ। पीडक पक्ष नै मिलापका लागि राजी नदेखिएको बताइएको छ । प्रहरीसँग हिंसा गर्दिनँ भन्ने तर घर पुग्नासाथ कुट्ने गरेको शारदाले बताइन् । श्रीमानको कुटाइले शरीरका अंगसमेत सुन्निएका छन् ।
अन्नपूर्ण पोष्ट ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





