धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण शनिबारबाट सुरु हुँदै छ। एसपिए कप र धनगढी क्रिकेट लिगलाई एकै ठाउँमा मिसाएर गत वर्षबाट राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा सञ्चालन हुँदै आएको डिपिएल टि-२० सर्वाधिक पुरस्कार राशी भएको क्रिकेट प्रतियोगिता हो। मोफसलमा भएर पनि आफ्नो छुटै छवि बनाउन सफल धनगढी प्रिमियर लिगमा अहिले ६ टिम सहभागी छन्। अक्सनबाट खेलाडी छनोट गरेर हरेक टिमले एक अर्काविरुद्ध प्रतिष्पर्धा गर्ने छन्। प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै दोस्रो हुने टिमले १० लाख, तेस्रोले तीन र चौथोले दुई लाख प्राप्त गर्ने छ। पुरस्कार राशी मात्रै ५० लाखभन्दा बढी खर्च रहेको प्रतियोगितामा कम्तीमा तीन करोड खर्च हुने प्रतियोगिताका अध्यक्ष सुवास शाहीले जानकारी दिए। प्रतियोगितामा यो पटकबाट लाइटिङ बेल, गत वर्ष आधा निर्माण गरिएको टेम्पोररी प्यारापिट यो पटकबाट पूरा गरिएको छ। त्यस्तै थर्ड अम्पायर, एचडी लाइभ, एलइडी स्क्रिन, आइसिसीबाट मान्यता प्राप्त प्रतियोगिता भएकाले प्रतियोगिता पूर्ण रुपमा अन्तर्राष्ट्रिय स्तरको बनाउने कोशिश गरिएको आयोजकले जनाएको छ। त्यस्तै टिकेटिङलाई पनि डिजिटल ९इ–टिकेटिङ० गरिएको छ। प्रिमियर लिगका अध्यक्ष शाहीले प्रतियोगिताको भब्यतालाई कायम राख्न कुनै पनि कसर बाँकी नराखिएको बताए। उनले भने ‘हरेक वर्ष नयाँ च्यालेन्ज फेस गर्ने गर्छौ केही नयाँ हुनु पर्छ भनेर हामी सोचिरहेका हुन्छौं। यो पटक हामीले धेरै कुराहरुमा सुधार्दै दर्शकलाई नयाँ स्वाद दिने कोशिश गरेका छौं ।’ १२ केजिको ट्रफी सार्वजनिक धनगढी प्रिमियर लिगको विजेताले पाउने ट्रफी भने शुक्रबार सार्वजनिक गरियो। १२ केजीको ट्रफी धनगढीस्थित संघीय ईकाई प्रहरी कार्यालयमा एक कार्यक्रमबीच सबै ६ टिमको कप्तानको उपस्थितिमा सार्वजानिक गरिएको हो। साविक विजेता टिम चौराहा धनगढीका कप्तान सोमपाल कामी, विराटनगर किङ्सका पारस खड्का, सिवाइसी अत्तरियाका सुवास खकुरेल, महेन्द्रनगर युनाइटेडका विनोद भन्डारी, काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र रुपन्देही च्यालेन्जर्सका शक्ति गौचन तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए।





