चैत्राष्टमीको अवसर पारेर आयोजना गरिएको ऐतिहासिक चैत्राष्टमी मेला २०७४ शुक्रबारदेखी सुरु भएको छ । मेलाको अवसरमा आयोजना गरिएको भलिबल तथा लोकदोहोरी प्रतियोगिताको शुक्रबार उद्घाटन गरिएको छ । दोहोरी गीत प्रतियोगिताको उद्घाटन गर्दै सांसद मन कुमारी केसीले कला संस्कृतिको संरक्षणमा कालिका भगवती गुठीले देखाएको सक्रियता महत्वपुर्ण भएको बताईन् ।
संरक्षणको अभावमा स्थानिय कला संस्कृतिहरु लोप हुने अवस्थामा रहेकाले यसको संरक्षणको लागि राज्यका सबै तहले ध्यान दिनुपर्नेमा केसीको जोड थियो । त्यस्तै, भलिवल प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै पौडेलले परम्परागत चैत्राष्टमी मेलाको महत्वलाई कायम राख्न आयोजकले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । खेलकुदको र धार्मिक पर्यटनको माध्यामबाट बागलुङको आर्थिक विकासमा मेलाले टेवा पु¥याउने भन्दै पौडेलले समय समयमा यस्ता कार्यक्रमहरु आयोजना भैरहनु पर्नेमा जोड दिए ।
यहि चैत्र १३ गतेसम्म कालिका भगवती मन्दिर परिसरमा सञ्चान हुने मेलाको अवसरमा लोकदोहोरी गीत, खुल्ला कालिका कप पुरुष भलिबल, खुल्ला टि–ट्वान्टी क्रिकेट, खुल्ला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । सर्वाधिक पुरस्कार राशी रहेको कालिका कप भलिवल प्रतियोगितामा १२ समुहले सहभागिता जनाएका छन् । प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा नेपाल बिद्यार्थी संघले बागलुङ नगरपालिकालाई २–३ को साझो सेटमा पराजित गरेको छ । प्रतियोगिताका बाँकी खेल शनिबार सञ्चालन हुने छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै, शुक्रबारदेखि नै सुरु भएको लोकदोहोरी गीत प्रतियोगितामा १३ समुहले सहभागिता जनाएका छन् । लोकदोहोरीमा प्रथम हुनेले १ लाख ११ हजार, दोस्रो हुनेले ५५ हजार ५ सय र तेस्रो हुनेले २५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने व्यवस्था रहेको कालिका भगवति गुठी व्यवस्थापन समितीका अध्यक्ष राजु खड्काले बताए । मेलामा रथयात्रा तथा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम र रमाईंलो बालउद्यानको समेत रहेको खड्काले जानकारी दिए । बागलुङको धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको मेला नाफामुखी भन्दा पनि सेवामुखी हुने आयोजक कालिका भगवती गुठीले जनाएको छ ।





