राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका निवासी एकजना व्यवसायीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
सप्तरी जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने उनि पहिलो व्यक्ति हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गत बुधबार अस्पताल भर्ना गरिएको ७३ वर्षीय वृद्धको बिहीबार राति अन्दाजी १० बजेको समयमा मृत्यु भएको जनाइएको छ । बीपी कोइराला अस्पतालले सोही दिन स्वाब सङ्कलन गरिएको थियो ।
बिहीबार कोरोना रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । भर्नाको केही समयपछि उनको मृत्यु भएको बताइएको छ ।
मृतक लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट बिरामी थिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।