लन्डन । करिब दुई वर्षपछि विभिन्न मतान्तरका बावजुद संसदीय समितिबाट नागरिकता विधेयक टुङ्गिँएको छ । जसअनुसार गैर आवासीय नेपालीहरुले पनि आवश्यक शर्तहरु पूरा गरेर गैर आवासीय नागरिकता प्राप्त गर्ने भएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार मात्र उपभोग गर्न पाउने गरी गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता दिने व्यवस्था गरिएको छ । गैरआवासीय नागरिकता लिने व्यक्तिले नेपाली वा नेपालमा बोलिने कुनै एक मातृभाषा जान्नु अनिवार्य गरिएको छ ।
हाल नेपाली नागरिकतावाहक गैरआवासीय नागरिकलाई साविकको नागरिकता खिचेर नयाँ नागरिकता दिनुपर्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हितविपरीत कार्य गरेको ठहरेमा नागरिकता रद्द हुनेछ ।
गैरआवासीय नागरिकता लिन चाहने व्यक्तिले निजको बाबुआमा वा बाजेबज्यै साविकको नेपाली नागरिक भएको प्रमाण दिनु पर्नेछ । यस्तै सम्बन्धित व्यक्तिले साविकको नेपाली नागरिकता लिई परित्याग गरेको भए सोको प्रमाण दिनु पर्नेछ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको प्रमाण पनि निवेदनसाथ पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।