काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधि सभामा बुझाइको छ । २०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयक झण्डै २ वर्षदेखि समितिमा विचाराधिन अवस्थामा थियो । संसदीय समितिबाट पास भएको सो विधेयकमा गैरआवासीय नेपालीलाई पनि नागरिता दिने प्रावधान समेटिएको छ ।
सो दफाबमोजिम नागरिकता लिन चाहने व्यक्तिले निम्न कागजात संलग्न गरी मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित ब्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण र नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र सहितको निवेदन दिएका ब्यक्तिलाई गृह मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ ।
साविकमा नेपालको नागरिकता लिएको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र खिची यस दफा बमोजिमको नागरिकता दिनुपर्ने व्यवस्था छ ।
साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेकोगैर आवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान समेटिएको छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई शपथ गराउनुपर्ने व्यवस्था समेत गरिएको छ ।