गोर्खा अनलाइन रेडियो
बुटवल : गुल्मीमा रहेर पत्रकारीता एवं समाजसेवामा महत्वपूर्ण योगदान पुर्याउंदै आएकी गंगा खड्का ‘राष्ट्रिय यूवा पत्रकारिता पुरस्कार’ का लागि छनौट भएकी छन् । यूवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने जनही ५० हजार रुपैयाँ राशीको उक्त पुरस्कारका लागि उनी छनौट भएकी हुन् ।
पत्रकारिताको माध्यमबाट यूवाहरुको विषयमा लेखिएका समाचार, लेख, रचना मध्येबाट उत्कृष्ट सामग्री सहित प्रतिस्पर्धाको आधारमा मन्त्रालयले पत्रकारहरुलाई पुरस्कृत गर्दै आईरहेको छ । मन्त्रालयले मंगलवार पुरस्कृत हुने पत्रकारहरुको नामावली सार्वजनिक गरेको हो ।
औपचारिक कार्यक्रम कोरोना सामान्य भएपछि गरिने मन्त्रालयले जनाएको छ । पत्रकार खड्का अन्नपूर्ण पोष्ट दैनिकको गुल्मी संवाददाता हुन् । उनी विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छिन् । खड्का सहित देशभरबाट ६ जना पत्रकार छनौट भएका छन् ।
खगेन्द्र अधिकारी (उज्यालो पोष्ट दैनिक), गीता चिमोरिया (सिआइएन नेपाल), निरज न्यौपाने (एसडिजी स्टुडियो), रत्नाकुमारी चौधरी (रेडियो नेपाल) र शुष्मा वराली (हिमाल मिडिया) रहेका छन् । यस पुरस्कारले आफूलाई थप प्रोत्साहनका साथै खुसि मिलेको खड्काले बताएकी छन् ।