काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।
वि.सं. २०७६ सालमा ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको बोर्डले जनाएको छ ।
कोरोना भाइरस (कोभिड –१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो ।
एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरसका कारण पछिल्ला समयमा विभिन्न स्थानमा जारी बन्दाबन्दीका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पुर्याउन कठिनाइ हुने बोर्डले जनाएको छ ।
गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित गरिएको थियो ।
यसवीचमा सरकारले पूर्व निर्धारित हिसावले परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेपछि विद्यालयले यसअघि गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा नतिजा दिने नीतिगत निर्णय सरकारले गरेको थियो ।