वीरगञ्ज । नेपालमा थप दुई जनामा कोरोनका कारण मृत्यु भएको पुष्टि भएको छ । बिहीबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जनाको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।
बिहीबार वीरगञ्जको घण्टाघरछेऊमा मृत अवस्थामा फेला परेका अन्दाजी २५ वर्षका पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएका बारा जिल्लाका ५ वर्षीय बालकको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
यो संगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
वीरगञ्जको घण्टाघर अगाडि खाली रहेको जग्गाको पार्किङ्ग स्थलमा विहीबार फेला परेको अन्दाजी २५ वर्षिय बेवारिसे शवबाट विहीबार नै स्बाव संकलन गरि परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाईएको थियो ।
परीक्षणपछि शुक्रबार राती १० बजे उक्त अन्दाजी २५ वर्षिय बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तैगरी वीरगञ्ज महानगर पालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्पतालमा बाराको निजगढका ५ वर्षिय बालकलाई निमोनियाको समस्या देखिएपछि भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
उपचारकोक्रममा ति बालकको शुक्रबार मृत्यु भएपछि स्बाव संकलन गरी पिसिआर परीक्षण गर्दा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।