गोविन्द बेल्वासे
लन्डन, सञ्चार जगतलार्इ सरकारको चौथो अंगका रूपमा स्थापित गर्नमा नेड्दह्यामदेखि कार्ल बेर्नस्टिन र बव उड्वार्डसम्मको ठूलो योगदान छ । सञ्चार जगतलार्इ जनहित (Public Interest) को पक्षमा डोर्याउने र यसको आवश्यकता एवं गरिमा कायम गर्नलामो समय लाग्यो । राजनीति र सञ्चार जगत दुवै जनहित प्रयास एवं प्रजातन्त्र विकासका सहयात्री हुन । “मार्क्युरियस पोलिटिक्स’का सम्पादक मार्चमोन्ट नेड्दह्यामले सेप्टेम्बर १६५१ देखि अगस्ट १६५२सम्म आफ्नो पत्रिकामा लगातार ‘प्रजातन्त्र’ सम्बन्धी सम्पादकीय छापेका थिए । उक्त सम्पादकीयको शृङ्खलालाई आधुनिक संसदीय प्रजातन्त्रको आधार पनि मानिन्छ । उनी प्रजातन्त्रका लागि लड्दा पटक-पटक कैद हुने र छुट्ने गरे । उनी राजा चार्ल्सको विरोध गरेबापत जेल गए । राजा चार्ल्सको टाउको काटिनुभन्दा दुई वर्षपहिला उनले एक्कासि आफ्नो धार परिवर्तन गरेर राजाको पक्ष लिँदै क्रमवेलको घनघोर विरोध गरे । फेरि उनले संसदवादी धार समातेर राजतन्त्रमाथि प्रहार गर्न थाले । समग्रमा हेर्दा उनी सधैं जनहितको पक्षमा इमान्दार बनेर योगदान गरे । वाटरगेट काण्डमा वासिङ्टन पोष्टले निभाएको भूमिकाले पनि लोकतन्त्र बलियो पार्नमा पत्रकारिताको योगदानलार्इ निरन्तरता दियो । राजनीतिको आरोह अवरोहको क्रममा पत्रकारितालार्इ जनहितको पक्षमा डोर्याएर कार्ल बेर्नस्टिन र बव उड्वर्ड वाटरगेट काण्डको पर्दाफास नगरेको भए प्रजातन्त्र सजिलै मौलाउने थिएन । यो पत्रकारिताको क्रमलार्इ धेरैले जनहितमा डोर्याउन योगदान गरेकै कारण सञ्चार जगतलार्इ जनहितको खम्बाका रूपमा समाजले स्वीकार गरेको हो । जनहितको पर्यावाचीका रूपमा मानिने सञ्चारजगतलार्इ अहिले ‘फेक न्यूज’को छिटा छ्याप्न थालिएको छ । यो आरोप धरातल विहीन होइन भन्ने जनविश्वास छ । सञ्चारलार्इ जनहितमा लाग्न नसकेको आरोप यस अघि यस हदसम्म लागेको पनि थिएन । यस तहको यो पहिलो प्रहार हो र यसलार्इ अन्तिम बनाउन आवश्यक छ । एकातर्फ प्रविधि विकासले आम नागरिकमा सूचनाको पहुँच सहज बनाएको छ भने गलत तत्वले पनि प्रविधि उपयोग गर्ने सुविधा पाएका छन् । पत्रकारिताको विकास क्रममा सञ्चारजगत जनहित भावनाले अभिप्रेरित थियो भने अहिले कर्पोरेट भावनाले प्रभावित भएको छ । कर्पोरेट प्रभावबाट सञ्चारजगतलार्इ जोगाउन सरकारी नियन्त्रणको वकालत गर्ने परिस्थितिबाट जत्ति खतरा छ त्योभन्दा बढी कर्पोरेट पकडबाट सञ्चारलार्इ स्वतन्त्र राख्न सञ्चारकर्मीहरू सजग हुनु पर्ने अवस्था देखापरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको मिडियाप्रतिको आक्रामक सैली यसको ज्वलन्त उदाहरण हो ।
नेपालको इतिहास खोतल्ने हो भने सञ्चारलार्इ जनहितमा डोर्याउनकालागि हरिहर विरही तथा पदम ठकूराठीको पत्रकारिता र सितल कुमारका स्तम्भको ठूलै योगदान रह्यो । उक्त योगदानले गणतन्त्र र लोकतन्त्रसम्म पुर्याएको छ । सञ्चार जगतलार्इ स्वच्छ पार्न आचारसंहिता र गोपनीयता तथा गालीवेइजती नियन्त्रण कानून नै पर्याप्त मानियो । तर, साइबर प्रविधिले नागरिक सञ्चारलार्इ अगाडि बढाउँदै गर्दा परम्परागत नियन्त्रणका ढाँचा पर्याप्त नभएको उदाहरण अमेरिकाको चिर्वाचनमा साइबर घोटालाको चर्चाले नै पुष्टि गरेको छ । सञ्चार जगत तथा मिडियाले जति आरोह अवरोह भोगेपनि जनहितको उद्देश्यको परिधिबाट बाहिर जान सकेके थिएन । राजनीति उद्देश्यमा चलेको होस वा नीजी लगानीमा रहेको सबै सञ्चार जनहितको उद्देश्यभित्र रूमल्लिएकै कारण पत्रकारिता फलिफाप सिध्द भएको हो ।भूमण्डलीकरण विस्तार हुँदै गर्दा मडियामा कर्पोरेट जगतले आवश्यकता महसुस गरेपछि लगानी बढेका कारण सञ्चारजगतलार्इ सुविधायूक्त रूपमा अगाडि बढ्न सहयोग गरेको छ । केही दशक अगाडिसम्म सादा झोला र कलमको प्रतिकले चिनिने सञ्चारकर्मीहरू आधुनिक क्यामरा, रेकर्डर इत्यादि प्रविधिबाट सुसज्जित रवाफवाल पत्रकारको दृष्यमा देखिन्छन् । एक कोँडबाट हेर्दा यसलार्इ सन्तोस गर्ने कारण पनि मान्न सकिन्छ । अर्को तर्फ सरकारी नियन्त्रणका मिडिया र जनताको छुट्टै करबाट चल्ने बेलायतको बिबिसी बाहेक अरू मिडिया स्वतन्त्र मिडियाको परिधि नाघिसकेको महसुस हुन्छ । कर्पोरेट जगतले आफ्नो उद्देश्य निहित सूचना सञ्चार गर्न मिडिया जगतलार्इ डोर्याउन लगानी गरेको प्रतित हुन्छ । कर्पोरेट जगतले सञ्चारको स्वतन्त्र छवि र जनहित भावनालार्इ लगानीको माध्यमले आफ्नो कोलाटामा पारिसकेको छ । सञ्चार जगतमा कर्पोरेट जगतको यती लगानी भैसकेको छ कि जनहित भावनाले स्वतन्त्र सूचना प्रवाह गर्नुभन्दा पनिमिडिया कर्पोरेट भावनाबाट प्रभावित हुन बाध्य हुने गरेको छ । आफूलार्इ स्वतन्त्र ठान्ने सञ्चारकर्मचारीहरूलार्इ पनि यस्तो टार्गेट तोकेर काममा खटाइएको हुन्छ कि उसले जागिर जोगाउन पनि कर्पोरेट स्वार्थमा आफ्नो इमानलार्इ बन्धकी राख्न बाध्य पारिन्छ । कर्पोरेट सहयोगको विज्ञापन र लगानीको भरमा स्वतन्त्र ठान्छु भन्दभन्दै जनहित विर्सनुपर्ने बाध्यताले सञ्चारजगतको अवरोहले गर्दा समाजमा नकारात्मक असर दिखन थालेको छ । कर्पोरेट संजालमा फसिसकेको सञ्चारजगतलार्इ यस दलदलबाट निकाल्ने समाधान तत्काल नभेटिएपनि यसको समाधान खोज्ने जिम्मेवारी सञ्चारकर्मीहरूले नै निभाउन पर्ने जिम्मेवारी बोध गर्नु पत्रकारहरूको कर्तव्य ठहरिन गएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।