हिन्दू नेपालीहरुले परम्परादेखि मनाउंदै आएको प्रमुख चाड बडादशैं २०७३ असोज १५ गते अर्थात अक्टुबर एक तारिखबाट शुरु हुँदैछ । उक्त दिनबाट नवरात्र अर्थात घटस्थापना आरम्भ हुनेछ भने यसै दिन घरघरमा जमरा राख्ने गरिन्छ । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ। भगवान रामचन्द्रले बनवासमा महामायाको आह्वान गरी नौ दिनसम्म पूजा आराधना गरेपछि देवीले नवौं रातमा ‘भोलिको दिन मेरो प्रसाद लगाइ अभियान गरेमा रावणमाथि विजय पाउँछौ’ भनेर सपनामा बताएपछि रामले यस दिन अर्थात आश्विन शुक्ल दशमीका दिन भगवतीको घडाको जलले अभिषेक लिइ भगबतीको प्रसाद टीका, जौका आँकुरा (जमरा) लगाइ विजय अभियान गरेका थिए । तसर्थ उक्त दिनलाई विजय दशमीको रुपमा मनाउन थालिएको परम्परा रहेको छ । नेपाल पंचांग निर्णायक समितिले गरेको निर्णयअनुसार बि.स. २०७३ सालको बिजया दशमीको टिकाको साइत असोज २५ गते अर्थात ११ अक्टुबर मंगलवारका दिन बिहान ८:४५ मा शुभ रहेको उल्लेख गरेको छ । बडा दशैंको मुख्य दिनको रुपमा मानिने बिजय दशमीको उक्त दिनको विशेष महत्व भए पनि पूर्णिमाको दिनसम्म तीका ग्रहण गर्नको लागि उपयुक्त मानिन्छ । असोज २२ अर्थात अक्टुबर ८ शनिवारका दिन फूलपाती परेकोछ र फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने पनि पंचांग निर्णायक समितिले उल्लेख गरेको छ । यसैगरी असोज २३ अर्थात ९ तारिख आइतवारका दिन महाष्टमी र कालरात्री तथा असोज २४ अर्थात १० अक्टुवर सोमवारका दिन महानवमी पर्व पर्दछ । बडादशैंको अन्तिम दिन असोज २९ गते अर्थात १५ अक्टुवर शनिबारका दिन टीका, जमरा र प्रसाद ग्रहण कार्यक्रम समाप्त हुनेछ भने सोही दिन कोजाग्रत पूर्णिमा रहेको पनि पंचांग निर्णायक समितिले जनाएको छ ।
दशैमा टीका लाउँदा दिने आशिष यसप्रकार रहेको छ ।
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योंधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशिर्वात लिइन्छ । तर हिजोआज मनाइने दशैं भने निकै आधुनिकीकरण बन्दै गइरहेको छ । धार्मिक लगायत सामाजिक मेलमिलापको रुपमा परम्परगत रुपमा मान्यता पाउँदै आएको यस पर्वले हाल आएर धार्मिक ददृष्टिकोणले भन्दा पनि मनोरंजन तथा भेटघाटको रुपले विकसित हुदै गएको पाइन्छ । सामाजिक संजालको बढ्दो प्रभावका कारण विशेषगरी यस्ता विभिन्न चाडपर्वको प्रभाव बढ्दै गएको पाइन्छ ।
फाइल फोटो
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।