लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा गरिएको सदस्यता शुद्धिकरणमा आधा भन्दा बढी सदस्य कटौती भएका छन् ।
लामो समयदेखि चल्दै आएको सदस्यता शुद्धिकरण सम्बन्धि मुद्दालाई पत्रकार महासंघ यूके शाखाको आइतबार बसेको भर्चुअल बैठकले टुंगो लगाएको हो ।
झन्डै आठ दर्जन सदस्य रहेको यूके शाखा अब ४३ जनामा मात्र सिमित बनेको छ ।
आइतबार बसेको कार्यसमिति बैठकले सदस्यता शुद्धिकरण समितिबाट प्राप्त सिफारिशमाथिको छलफलपछि केही नामहरु थप गर्दै ४३ जनाको अन्तिम सूची पारित गरेको हो ।
बरिष्ठ पत्रकार एवंम् सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा झन्डै तीन वर्ष अघि शुद्धिकरण समिति गठन गरेको थियो । सोही समितिले पत्रकारिता क्षेत्रको क्रियाशिलतालाई आधार बनाएर सदस्यका नामहरु सिफारिश गरेको थियो ।
यसअघि शाखाको सदस्यता कायम राख्न ईच्छुक सदस्यहरुलाई आफ्नो क्रियाशिलताको प्रमाणहरु पेश गर्न निश्चित समय समेत उपलब्ध गराइएको थियो ।
विभिन्न मापदण्डका आधारमा अन्तिम सूची तयार गरिएको संयोजक भागिरथ योगीले बताए ।
जुन १३ मा पाँचौं अधिवेशन हुने
पत्रकार महासंघ यूके शाखाको पाँचौं अधिवेशन आउँदो जुन १३ मा भर्चुअल माध्यमबाट गर्ने निर्णय समेत सो बैठकले गरेको छ । सोहि अधिवेशनले शाखाको नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशन संयोजनको जिम्मा उपाध्यक्ष विमला सेनेलाई दिइएको छ । पाँचौं कार्यसमितिको निर्वाचनको लागि रमेश सराङकोटीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
समितिमा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा एवम् सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य छन् भने कानूनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराईलाई राखिएको छ ।
यसैगरी पत्रकार महासंघ यूके शाखाले प्रत्येक वर्ष प्रदान गरिने एफएनजे यूके पत्रकारिता पुरस्कारको पनि व्यवस्था गरेको छ । ५ सय पाउन्ड राशीको उक्त पुरस्कार बेलायतमा कार्यरत पत्रकारलाई यसै वर्षदेखि वितरण गरिनेछ ।
अधिवेशनकै दिन वितरण गरिने पुरस्कार छनोटका लागि प्रा कृष्ण अधिकारीको संयोजकत्वमा अध्यक्ष नरेश खपांगी, प्रा प्रियाम्दवा पौडेल र पुरस्कार कार्यविधि संयोजक डा जगन कार्की सदस्य रहेको एक समिति गठन गरिएको छ ।
बेलायतको नेपाली पत्रकारितामा योगदान पुर्याएका ५ जना अग्रज सुमन खरेल, चिरन्जिवी पौडेल, सुरेशजंग शाह, विजय थापा र भगिरथ योगीलाई पनि अग्रज सम्मान गर्ने निर्णय गरिएको छ ।