लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर बसोबास गर्ने नेपालीहरुको लागि टेलि-हेल्थ सेवा शुरु गरेको छ ।एनआरएनए अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा गत शुक्रबारदेखि टेली- हेल्थ कार्यक्रम शुभारम्भ गरिएको हो। यस टेलि–हेल्थ सेवा बाट विश्वका कुनै पनि ठाउँ मा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य सम्बन्धि परामर्श लिन सक्नेछन् ।
यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु उपलब्ध हुनेछन् । मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुद्वारा उचित परामर्श प्रदान गरिनेछ ।
यसका साथै मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिएका छन् । बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू पनि सहभागी हुनेछन् ।
टेलिहेल्थ कार्यक्रमबाट कसरी सेवा लिने ?
आफ्नो मोबाइलमा रहेको भाइबर तथा वाट्सएपबाट टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै इमेल telehealth@nrna.org मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ ।
यो कार्यक्रम नितान्त र निशूल्क भएकोले कार्यक्रमार्फत सेवा लिए वापत कुनै पनि शुल्क लाग्दैन गैरआवासीय नेपाली संघमार्फत विश्वव्यापी रुपमा नेपाली समुदायलाई सुविधा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको हो । यसमा सहभागी विशेषज्ञ र परामर्शदाता, स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यमबाट फोन, भैबर, व्हाट्सएप तथा ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सकिनेछ । प्राप्त जिज्ञासालाई सम्बन्धित क्षेत्रको विशेसज्ञ पुर्याएर समस्या समाधान गरिनेछ । तर, यसले आपतकालीन स्वास्थ्य सेवा तथा आवश्यक औषधी प्रदान गर्दैन ।
सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम गर्दैन । गम्भीर र आपतकालिन समस्या परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।
स्वास्थ्य समितिले नेपालीलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्दै आएको डाँफे केयर सँग मिलेर काम गर्नेछ । डाँफे केयरले धेरै जसो नेपालमा, तर विदेशमा पनि, धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको छ ।बिरामीको सम्पूर्ण जानकारी गोप्य राखिनेछ । प्राप्त जानकारीहरु डाक्टर र विशेषज्ञबाहेक स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई दिइनेछैन ।