– ससाङ् लामा, न्युयोर्क
गरिब नातेदार जस्तो किन दैलो छेउ बसेकी? यता आइज,सोफा माथि बस् ! आमाको कुरालाई नसुनेझैँ शर्मिला घोप्टेर के के सोचिरहेकी थिइन| संकोच,द्विविधा र लघुताभासले थिचिएर तिनको बोलती नै बन्द भएको थियो । वास्तवमा तिनी आज माइती रहरले नभएर करले आएकी थिइन,छरछिमेकी र समाजको डरले आएकी थिइन ।
सानी छोरीलाई रातो लुगा लगाइ दिएपनि आफु घुर्मैलो सारीमा थिइन । तिनको मुहारमा तिजको उमंग,खुशी,उल्लास केही थिएन । आमाको मनस्थिती देखेर छोरी पनि अरुहरुसँग घुलमिल गर्न अनकनाइ रहेकी थिइन् । जेठि भाउज्यु,माइली भाउज्यु,ठुल्दिदी,दुइ बहिनिहरु,आमा र घरका बच्चा-बच्चीहरु सबै नै तिजको अवसरमा रातो लुगामा ठाँटिएका थिए, बुवा समेत रातो स्वीटरमा हुनुहुन्थ्यो ।
माइती घरकाहरु कसैसँग तिनिसँग भलाकुसारी गर्ने समय थिएन| यो त्यही घर थियो जहाँ बाबु आमालाई दङग्याएर तिनी हुर्केकी थिईन|विवाह पश्चात अनेकानेक सामाजिक र आर्थिक कारणले गर्दा तिनको कमजोर मनोबललाई झन कमजोर बनाइदियो|आजपनि ठुल्दिदी र तिनी संगै माइती घर पुगेका थिए ।
म्यान्पावरे भेनाज्युले हाँकेको टोयटा मोटरमा ठुल्दिदी आएकी थिइन भने तिनलाई चाँहीं कलेजका लेक्चरर लोग्नेले भटभटेमा पुर्याएका थिए । संयोग पनि कस्तो, दुवै संगै पुगेका थिए । हिनताबोधले शर्मिलाको मुटुनै निचोरिएको थियो ।पारिवारीक जमघटका अवसरमा पटक पटक तिनको स्वाभिमान थाकेको थियो,गिरेको थियो।
-हन,यो त अझै दैलो छेउमै बसिरहेकी रहिछे! लुगा पनि कस्तो लगाएकी! मसंग पोहोर ज्वाँईंले दुबहीबाट ल्याउनु भएको एउटा रातो सारी छ,त्यो लाउंछेस ? शर्मिला केही बोल्दिन र खुट्टाको बुढी औलाको नङले भुइँ कोतर्दै बस्छे ।
-यो शर्मिलेलाई के भएकी होली? आफ्नो घरभरी कामैकाम छ् भन्दै फत्फताउंदै आमा हिँडिन ।
माइती घरमा जम्मा भएका चेलीबेटिहरुका माझ,अझ त्यत्रो उल्लासमय होहल्ला र नाचगानको माहौलमा पनि शर्मिला एक्ली महसुस गरिरहेकी थिइन|माइती घर तिनलाई बिझाइ रहेको थियो|जाउँ कि बसुँ भै किंकर्तब्यबिमुढ भएकी थिइन ।लघुताभासले तिनी पिल्सिरहेकी थिइन ।
जाउँ कि बसुँ को दिविधामा हठात तिनी उठिन र बुवासंग बिदा मागिन|कुनामा बसेका पिताजी अघिदेखी छोरीको मनोदशा नियाल्दै थिए र बिस्तारै उठेर छोरीको हात समातेर बाहिर लिएर गए र शर्मिलाले आफ्नी छोरीलाई पनि तान्दै बाहिर लगे । बाबुले छोरीको मनको कुरो बुझे र मुलबाटोसम्म आइ आमा छोरीलाई माइक्रोमा चढाउनु अघि नातीनिको हातमा हजार रुपया राखिदिए र भने:म भोली तं संग कुरा गर्न आउँछु ।
माइती घरमा जस्तै माइक्रो भित्र पनि तिजले गर्दा सबै राताम्मे थिए|काँठतिरका जस्ता देखिने आईमाईहरु तिजको गीत गाउंदै थिए र सिट्बाट उठेर नाच्दै थिए । सारा दु:ख पिर,डोको नाम्लो र मेलापात बिर्सेंर तिजमा रम्दै थिए । शर्मिला एकटक लगाएर ति महिलाहरुलाई हेर्दै मनमा अनेक कुरा खेलाउन थालिन् ।
तिनी भन्दा कता हो कता बढी दु:ख खेपिरहेका ति महिलाहरु यसरी रमाउन सक्छिन भने म मात्र के भएकी ? नारीहरुको यत्रो ठुलो चाडमा किन रमाउन नसकेकी? किन म भित्र यतिबिधी इर्ष्या, डाह र जलन! मैले जीवन जिउनै नजानेको हो कि? मनभित्र यस्तै अनेकौँ तर्कना खेलाउँदै तिनी घर पुगिन् ।
निलो आकाशमुनी, पहिले पहिले संधै लोडशेडिङ भैरहने काठमाडौँ खाल्डो आज झलमल्ल थियो|घाम डुबिसके पनि घामको अस्तित्व हिमालको टुप्पोमा सुनौलो रङ्गमा अझै देखिन्दै थियो। तिजको खुशी घरभित्र मात्र सिमित नभै सडकमा पोखिएको थियो,छरपष्टिएको थियो ।
घरको छतबाट ओर्ल्हेर शर्मिला सिधै बेडरुममा गई दराजबाट रातो सारी निकालिन र सारी लगाउंदै तिजको गीत गुनगुनाउन थालिन। टिभीमा तीजको नाचगान देखाउंदै थियो । तिनी पनि छम छम नाच्न थालिन । कतिबेरदेखी श्रीमान दैलोमा उभिएर तिनको नाच हेर्दै थिए भन्ने कुरो त पत्तै पाइन । ताली बजेपछी बल्ल श्रीमानलाई देखिन् ।
-ल तिमीलाई आज एकदमै खुशीको खबर सुनाउंछु,फेरी एकचोटी नाच,अनि मात्र सुनाउंछु ।
-छिटो सुनाउनु न, भन्दै लोग्नेसंग टाँसिन पुगिन् ।
-हाम्रो बिभागले बष्टन युनिभर्सिटिबाट प्राप्त गरेको पि एच डि डिग्रिको छात्रब्रितिमा थुप्रै आवेदकहरुमध्य बाट युनिभर्सिटिले मेरो नाम अनुमोदन गरेको छ्।
-उसो भए हामी अमेरिका जाने होइन त ? भन्दै छोरीकै अगाडि लोग्नेलाइ गम्लङ्ग अङ्गालो हालेर ओठमै म्वाइ खाइन । आमा छोरी धेरैबेरसम्म नाचिन र यो सुसमाचार सुनाउन भोली बिहानै माइती जाने निर्णय गरिन, त्यो पनि
रातो सारीमा…….
सुन्नको लागि प्ले गर्नुहोस ।