काठमाडौं । कोभिड–१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २ सय ९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३ सय ५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३ सय ९४ छन् ।
यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५ सय २७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड–१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जनाएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागू गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ २१ गतेदेखि सुरक्षित रुपमा स्वदेश फर्काउने कार्य शुरु गरेको हो । यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४ सय ८३, ओमानबाट ३ सय १३, कतारबाट एक हजार ८ सय १२, म्यानमारबाट २६, जापानबाट ४ सय ९२, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट २ सय २८, बङ्गलादेशबाट ८ सय ४१, मलेसियाबाट एक हजार ५ सय ३७, माल्दिभ्सबाट ७ सय ९, यूएईबाट दुई हजार ७ सय ३७, सउदी अरेबियाबाट दुई हजार दुई, सिङ्गापुरबाट १ सय ४६, हङकङबाट ८९, पाकिस्ता नबाट ७२, बहराइनबाट ४ सय २०, संयुक्त राज्य अमेरिकाबाट २ सय ८२ र संयुक्त अधिराज्यबाट २ सय २९ नेपाली स्वदेश फिर्ता भएका छन् ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयानुसार कोभिड–१९ विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समितिअन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्न सीसीएमसीको स्थापना भएको थियो ।
पछि सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार उच्चस्तरीय समन्वय समिति विघटन गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न १० मन्त्री सदस्य रहेको सीसीएमसी निर्देशक समिति गठन गरेको हो । समितिले केन्द्र, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सम्बद्ध निकायमार्फत कोभिड–१९ विरुद्ध समन्वयात्मक रुपमा प्रतिकार्य सञ्चालन गर्दै आएको छ ।