मलाई कताकता मेरो मनसपटलमा झट्ट फुर्यो, सानो छँदा स्कुलमा पढेको अनि बादबिवाद गरेको ‘कलम ठूलो कि तरवार ठूलो’ भन्ने । अनि मनमनै सोचें कतै पढाइको यही बिषयबस्तु नै हाम्रो लागि अभिश्राप भएको त हैन ? भनिन्छ, बाल्यकालको दिमाग अत्यन्त तेजिलो हुन्छ र सजिलै टिप्न पनि सक्छन् रे अनि त्यसको प्रभाव पनि गहकिलो रुपमा बस्दछ अरे । नभन्दै त्यो कलिलो दिमाग अनि त्यो सानो उमेरको मूल्यांकनलाई हेर्ने हो भने त आकारमा कलमभन्दा तरवार त कैयौँ गुणा ठूलो हुन्छ । तसर्थ कलम भन्दा तरवार नै ठूलो हुन्छ भन्ने तथ्य हाम्रो मनमस्तिष्कमा बस्नु कुनै अस्वभाविक भने होइन । सायद यसै प्रभावका कारण हामी नेपालीहरु जहिले र जहाँ पनि कलमको होइन तरवारकै तुजुक ओकल्ने गर्दछौं । शान्तिपूर्ण तर्क र बौद्दिकता होइन, अशान्ति र मुर्ख्याइ गर्नु नै हाम्रो लागि गौरवको बिषय बन्न जान्छ । त्यसैले देश विदेश हामी जहाँसुकै भए पनि कुनै कुनै रुपमा यस्तो किसिमको ब्यबहार हामीबाट प्राय भइराखेको हुन्छ । उदाहरणको लागि केहि समयअगाडि नेपालको संसद भवनमा भएको रणसंग्रामलाई नै ताजा रुपमा लिन सकिन्छ ।
त्यस्तैगरी विदेशको उदाहरणलाई खोज्न टाढा गइराख्नुपर्दैन, यही फेब्रुअरी २१ तारिख शनिवार अल्डरशटमा भएको एनआरएनएको नेतृत्व हस्तान्तरण गर्नेबारे बसेको बिशेष साधारण सभालाई नै लिन सकिन्छ । जुन कार्यक्रममा प्रहरीले समेत उपस्थित जनाउनुपर्ने अवस्थाको सृजना भएको थियो । प्रवासमा बस्ने नेपालीहरुको हक र हितलाई समरक्षण र सम्बर्धन गर्ने भनिएको भए तापनि कार्यकर्ताबीच स्वयं आफू आफूमा नै सरक्षण र सम्बर्धन गर्न असमर्थ भएका कारण बिगत डेढ बर्षदेखि तानावपूर्ण रहेको उक्त एनआरएनएको ब्यबस्थापन गर्नको लागि सो सभाको आयोजना गरिएको थियो । बेलायतका लागि नेपालका का।बा। राजदूत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा बसेको सो साभालाई गत २०१३ मा निर्वाचित अध्यक्ष योगेन्द्र क्षेत्रीले सभापतित्व गारेका थिए भने बिशेष अतिथिहरुमा दूतावासकै अट्याची कर्णाल प्रदीप के।सी।लगायत एनआरएनएका केन्द्रिय महासचिव आइसीसी संरक्षक रि.क्या.हितमान गुरुङ, कुमार पन्त र क्षेत्रीय युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ बिशेष अतिथि तथा आइसीसी संरक्षक रि.मे. डम्बर बहादुर गुरुङ आइसीसी बिधान मस्यौदा समितिका सदस्य तथा एनसीसी सल्लाहकार हेमराज शर्मा, एनसीसी सलाहकार विश्व आदर्श पण्डित,पूर्व अध्यक्ष्य सूर्य गुरुङ आदि अतिथिहरु रहेका थिए । राष्ट्रिय गान बजाएर आरम्भ गरिएको उक्त कार्यक्रममा राजनैतिक तथा सामाजिक क्षेत्रमा प्रभाव पुर्याउदै आएका बिशिस्ट ब्यक्तिहरुलगायत लगभग दुई सयको हाराहारीमा उपस्थिति रहेको थियो । दुर्भाग्यबस कार्यक्रमको पछिल्लो चरणमा भने सम्पूर्ण बातावरण नै धमिलिन पुगेको थियो । अर्थात् कलमको होइन तरवारको हावी हुन पुगेको थियो । व्यक्तिगत रिसइबी र प्रतिस्पर्धाका कारण सम्पूर्ण नेपालीहरुलाई प्रतिनिधित्व गर्ने सामाजिक संस्थाको यस्तो गतिविधिले गर्दा अन्य नेपाली सामाजिक संस्थाहरुप्रति पनि मानिसहरुको चासो घट्दै गएको पाइन्छ । एनआरएनएको जन्म नै बेलायतबाट भएको हो भने, हाल सत्तरी देशमा यसको बिस्तार भइसकेकोछ जुन ठाउँमा जन्म भयो, सोही ठाउँमा नै भएको यस किसिमको एनआरएनए प्रवृतिले गर्दा उक्त संस्थाप्रति लागेको कलंकलाई स्वच्छ बनाउन भने सोचेजति सजिलो पक्कै छैन । सत्रु खोज्न टाढा जानुपर्दैन, आफ्नै दाजुभाइ नै काफी हुन्छन् भन्ने नेपाली परम्परागत उक्त्तिलाई सबैले चरितार्थ गर्दै आएको पाइन्छ । फलस्वरूप एक आपसमा संधै खिचातानीको अवस्था भइरहन्छ ।
लिन होइन, दिन आएको भने नारा लगाउने गरेतापनि तिनीहरुको नियतले भने पक्कै लिन आएको हो कि भन्ने आशंका जनमानसमा फैलिनु स्वभाविक हो । सामान्यतया मानिसले पढेर होस् या परेर या त दुवै तरिकाले आफूलाई समाजमा प्रतिष्ठित बनाएको हुन्छ । यसरी प्राप्त छविलाई बुद्दिमता तरिकाले समाजमा लागू गर्न नसके त्यसको कुनै अस्तित्व रहँदैन । जसले आफ्नो रिस राग पोख्न र बदला लिनको लागि सभ्य र सरल भाषाको प्रयोग गर्न सक्छ त्यसलाई नै उसको बौद्दिकता प्रदर्शनको रुपमा लिन सकिन्छ । जुन खुबी एउटा बौद्दिकस्तरको व्यक्तिमा मात्र हुने महत्वपूर्ण गुण हो भने उक्त खुबीले नै सो ब्यक्त्तिको बौद्दिक व्यक्तित्वको स्तर मापन गर्दछ । तर आफ्नो रिस ब्यक्त गर्न र बदला लिनलाई अश्लील शब्द र गालिगलौज नै गर्नुपर्छ भन्ने मानसिकताबाट भने कसैले पनि पछि हट्न सकेका छैन । क्षणिक आवेगमा आएर ओकलेका दुषित शव्दहरुले स्वयमलाई नै संक्रमित पार्छ भन्ने सोंचको विकास नहुनु एउटा विडम्बनाको कुरा हो । त्यसैले यस्तो किसिमका परिस्थितिको सृजना हुनुमा ब्यक्ति र समुदाय मात्र दोषी नभई कतै हाम्रो पठन पाठनको शैलीको मानसिक उपज त होइन ? जसले कलम र तरवारलाई तुलनात्मक अध्ययन गरेकोछ । यदि हो भने आकारलाई मात्र होइन त्यसको प्रभावलाई पनि मूल्यांकन गर्न जरुरी हुन्छ ।