Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो,
गत सेप्टेम्बर ९ तारिखमा सम्पन्न अधिवेसनबाट एनआरएन यूकेको नेतृत्व पाए योगकुमार फगामीले । भूतपूर्व गोर्खाको पृष्ठभुमि, थुप्रै सामाजिक संघसंस्थाका महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेको अनुभव र एनआरएन अभियानमा लामो समयदेखिको अविच्छिन्न समर्पण फगामीका मुख्य विशेषताहरु हुन् । एनआरएन यूकेको सन् २०१३ मा निर्वाचित कार्यसमितिमा महासचिव तथा सन् २०१५ को कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी वहन गरेका फगामीले सन् २०१७ देखि २०१९ सम्मको कार्यकालमा अध्यक्षको जिम्मेवारी पाएका छन् ।
फगामी नेतृत्वको कार्यसमितिको पहिलो १ सय दिन पूरा हुंदै गर्दा अध्यक्ष फगामीलाई सोधिएका केहि प्रश्न र तीनको जवाफ यहां प्रस्तुत छन् ।
१ पहिलो १ सय दिनको अनुभव कस्तो रह्यो ?
निकै सुखद । अध्यक्ष निर्वाचित हुंदै गर्दा ममा जुन उत्साह थियो, त्यो अहिले अझै बढेको महसुस हुन्छ मलाई । मैले निर्वाचित हुनुअघि बेलायतबासी सम्पुर्ण गैरआवासीय नेपालीहरुमाझ केहि प्रतिबद्धताहरु गरेको थिए । सोहिअनुसार काम गर्ने र संस्थालाई अघि बढाउने मेरो एक मात्र प्राथमिकता छ । मलाई विश्वास गरेर बेलायतबासी नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नो मत दिनुभएको छ । यो मेरो जीवनकै एक महत्वपुर्ण अवसर हो र मप्रतिको उहांहरुको विश्वासअनुरुप नै काम गर्नको लागि चुनौति पनि ।
सहि दिशामा कामहरु सुरु भएका छन्, काम गर्न सहज हुने र परिणाम प्राप्त हुने गरी संरचनाहरु तयार हुंदैछन् । २ वर्षे कार्यकालको बांकी समयलाई परिणाममुखी काममा केन्द्रित गर्नका लागि आवश्यक जग बसाल्ने काम पहिलो १ सय दिनमा हामीले गर्न सकेका छौं भन्न पाउंदा मलाई खुशी लागेको छ ।
२ यो अवधिमा के के भए काम ?
अहिले भर्खर पहिलो एक सय दिन पूरा हुंदैछ । २ वर्षे कार्ययोजनाका साथ संस्थामा काम गर्न भनेर हामीहरु आएका छौं । त्यसैले पक्कै पनि सबै निश्कर्ष निस्किने वा परिणाम हात लाग्ने समय त भइसकेको छैन । तर हामीले यो समयभित्र जति सुरुआत गर्न सक्थ्यौं, त्यति अवश्य गरेका छौं । सबभन्दा महत्वपुर्ण कुरा हामीले विभिन्न विषयत विभागहरु गठन गरेका छौं । त्यसका संयोजकहरु चयनका साथै सबै विभागमा सम्बन्धित विषयका जानकार तथा सरोकारवालाहरुलाई समेटेर समिति गठन गर्ने काम पनि पूरा भइसकेको छ । क्षेत्रीय अवधारणामा जाने भन्ने संस्थाको धेरै पहिलेदेखिको अधुरो कार्यक्रमलाई मुर्त रुप दिन सम्बन्धित विभागमार्फत प्रक्रिया अगाडी बढाइसकेका छौं । अब केहि साताभित्रै क्षेत्रीय समिति तथा राज्य समितिहरु समेत गठन हुने प्रक्रियामा छन् ।
हाम्रो आफ्नै कार्यालय पनि सुरु भइसकेको छ । अब संस्थाका सबै कामहरु यहि कार्यालयबाट सञ्चालन हुनेछन् । यसबाट हाम्रा सम्पुर्ण सदस्यहरु र बेलायतबासी नेपालीहरुले लाभ लिन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।
३ विश्व सम्मेलनमा कस्तो रह्यो सहभागिता
हामी निर्वाचित भएको २ महिना लगत्तै नै काठमाडौंमा विश्व सम्मेलन परेको थियो । त्यसैले हामीले कार्यभार ग्रहण गरेलगत्तै त्यसको तयारी सुरु गरेका थियौं । यस पटकको विश्व सम्मेलनमा पनि बेलायतको तर्फबाट जबरजस्त सहभागिता भयो । बेलायतबाट आईसिसीमा उम्मेदवारी दिने सबै साथीहरुको सहयोगका लागि हामीले प्रयत्न गरेका थियौं । सम्मेलनको पूर्वसन्ध्यामा सबै हाम्रा उम्मेदवार र डेलिगेट्सलाई एक साथ जम्मा पारेर भेला समेत गर्यौं । निर्वाचनको परिणाम सबै साथीहरुको पक्षमा सुखद रहन नसकेपनि केन्द्रीय उपाध्यक्ष, युरोपको महिला उपसंयोजक जस्ता पदमा बेलायतबाटै गएका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
नेपालमा रहंदा हामीले नेपालका नीतिनिर्माताहरुसंग पनि भेट्ने, छलफल गर्ने र सम्बन्धित विषयका हाम्रा आवाज उनीहरुसमक्ष राख्ने कामहरु गर्यौं । त्यसक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतसंग भेटेर बेलायतबासी सम्पुर्ण गैरआवासीय नेपालीहरुका भावना र विभिन्न समस्याहरुबारे जानकारी गराउने तथा सरकारको तर्फबाट हुनसक्ने सहयोगका लागि आग्रह समेत गर्यौं ।
४ बांकी कार्यकालका लागि के छन् मुख्य योजना ?
यो कार्यकालको हाम्रो मुख्य लक्ष्य नै संस्थालाई हामी सबैको साझा बनाउने काम हो । सोहि प्रयोजनमा अघि बढ्नको लागि सबै विभागहरुलाई जिम्मेदारी दिएका छौं र सबैले उत्साहित भएर काम गर्न सुरु गर्नुभएको छ । एक एनसिसीको रुपमा आइसिसीको नीतिअनुसार गर्नुपर्ने कामहरु त छदैछन्, हाम्रो बेलायतको नेपाली समुदायमा ग्रासरुटमा पुगेर संस्थाले समुदायको लागि के भुमिका गर्न सक्छ र समुदायले संस्थाका लागि के गर्न सक्छ, त्यहिअनुसार काम गर्ने हाम्रो प्राथमिकतामा छ । यो अर्थमा सिंगो समुदाय, सबै संघसंस्थासंग सहकार्य गर्ने र संगठन विस्तार गर्ने कार्यलाई महत्व दिनेछौं ।
५ मुख्य मुख्य कार्यक्रम के छन् त ?
संस्थाले हरेक कार्यकालमा वान एनसिसी वान प्रोजेक्ट अन्तर्गत गर्दै आएको च्यारिटीलाई निरन्तरता दिनेछौं । संस्थाको कोषका लागि समेत च्यारिटी कार्यक्रमहरु गरिनेछ ।
हामीले लण्डनस्थित नेपाली दूतावाससंग निकै नजिक रहेर सहकार्य गर्न चाहन्छौं र त्यहिअनुसार सहकार्य सुरु पनि गरेका छौं ।
एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टलाई पनि महत्वका साथ अघि बढाउनेछौं । पछिल्लो कार्यसमितिको निर्णयअनुसार अब नेपाल हाउस निर्माणको प्रोजेक्टलाई च्यारिटी मोडलबाट सामुहिक लगानीको मोडेलमा लगिनेछ ।
हामीले यहांस्थित सबै नेपाली संघसंस्थासंग पनि निकै नजिक रहेर काम गर्न चाहन्छौं ।
६ एनआरएनप्रति जति ठूलो चासो छ, त्यति बढि गुनासोहरु पनि । तपाईको पालामा संस्थामा के के सुधार गर्ने योजना छ ?
विगतमा सदस्यता शुल्क केहि बढि हुन पुगेको थियो । अब यसलाई मिनिमाइज गर्ने तयारीमा छौं । सदस्यता लिने प्रक्रिया पनि बढि झञ्झटिलो नहोस भनेर थप सहज बनाउने योजना छ । अर्कोपटक एनआरएन यूकेको निर्वाचनमा अनलाइन मतदानको व्यवस्था गराउनका लागि हामीले तयारी सुरु गरिसकेका छौं । सदस्यता प्रक्रिया पनि अनलाइनबाटै गर्दा थप प्रभावकारी हुनेछ भन्ने अपेक्षा छ ।
हामीले हालै एनआरएन यूकेको कार्यालय पनि सुरु गरेका छौं । यसबाट पनि संस्थाका सदस्यहरु र समुदायसंगको सम्बन्ध थप सुदृढ गर्न सहयोग पुग्नेछ भन्ने आशा गरेका छौं । जे जति सक्छौं, समुदायले अपनत्व महसुस गर्ने संस्था निर्माणमा लागेका छौं । समुदायका हरेक समस्यामा सकेजति सहयोग गर्न सकौं भन्ने छ । सबैको साथ, सहयोग पायौं भने अवश्य गर्न सफल हुनेछौं भन्ने विश्वास छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।