Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो,
लन्डन । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) को प्रत्येक दुई वर्षमा हुने महासभा संयुक्त अधिराज्यको राजधानी लन्डनमा यही २७ नोभेम्बर, २०१७बाट प्रारम्भ भएको छ । १७२ देशका प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थितिमा ३० औं महासभाको
समुद्घाटन गर्दै आइएमओका महासचिव महामहिम किटाक लिमले सदस्य राष्ट्रहरुको क्षमता अभिवृद्धि, सामुद्रिक संगठनको सदस्यहरुका दीर्घकालीन समस्या समाधानमा सामूहिक प्रतिवद्धता एवं सुरक्षित, दिगो र वातावरणमैत्री सामुद्रिक पारवहनका लागि चालु महासभाको ठोस र सार्थक योगदान रहने विश्वास व्यक्त गरे । महासभाको पहिलो बैठकले आइएमओका लागि चिलीका स्थायी प्रतिनिधि महामहिम रोलाण्ड द्रागो रोद्रिरेजलाई महासभाको अध्यक्ष निर्वाचित गरेको छ भने आइएमओका लागि साइप्रसका स्थायी प्रतिनिधि महामहिम युरिपेद्स एल एभ्रिभेद्स र आइएमओका लागि जर्जियाका स्थायी प्रतिनिधि महामहिम श्रीमती तमर बेरुस्काभीलाई क्रमशः प्रथम र द्वितीय उपाध्यक्ष निर्वाचित गरेको छ । महासभाको दोश्रो सत्रमा सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा आइएमओका लागि नेपालका स्थायी प्रतिनिधि एवं बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीले नेपाल एक भूपरिबेष्ठित राष्ट्र भएकाले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरुले प्रदान गरेका समुद्रसम्मको पारवहन पहुंच सम्वन्धि अधिकार प्राप्तिका लागि विश्वमञ्चमा अग्रपंक्तिमा उभिरहेको विचार व्यक्त गरे । राजदूत सुवेदीले समुद्रबाट नेपाल टाढा रहेपनि जलवायु परिवर्तन, सामुद्रिक वातावरणको बढ्दो दुरावस्था र सामुद्रिक व्यापारको बढ्दो असुरक्षाप्रति विश्व समुदायसँगै नेपाल पनि चिन्तित रहेको बताउँदै यसअघि भएका सामूहिक निर्णय र साझा प्रतिवद्धताहरुको कार्यान्वयन अहिलेको आवश्यकता भएको धारणा राखेका थिए । महासभाको १ डिसेम्बर, २०१७मा सम्पन्न निर्वाचनमा समूह कबाट चीन, ग्रीस, इटाली, जापान, नर्वे, पनामा, गणतन्त्र कोरिया, रुस, संयुक्त अधिराज्य र संयुक्त अधिराज्य अमेरिका कार्यकारी परिषदमा दुई वर्षका लागि निर्वाचित भएका छन् भने समूह खबाट अष्ट्रेलिया, ब्राजील, क्यानडा, फ्रान्स, जर्मनी, भारत, नेदरल्याण्ड, स्पेन, स्वीडेन र संयुक्त अरब इमिरेट्स निर्वाचित भएका छन् । त्यसैगरि, समूह गबाट बहमास, बेल्जियम, चिली, साइप्रस, डेनमार्क, इजिप्ट, इन्डोनेसिया, जमैका, केन्या, लाइबेरिया, मलेसिया, माल्टा, मेक्सिको, मोरक्को, पेरु, फिलिपिन्स, सिंगापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड र टर्की गरी २० राष्ट्र कार्यकारी परिषदमा निर्वाचित भएका छन् । आगामी दुई वर्षका योजना र कार्यक्रमहरू पारित गर्ने कार्यसूचिरहेको महासभा आगामी ६ डिसेम्बर २०१७सम्म जारिरहने लन्डनस्थित नेपाली दूतावासले आइतबार सांझ जनाएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।