काठमाण्डौ- ३३ किलो सुन लुटपाट प्रकरणमा छानविनका लागि पक्राउ परेका नेपाल एयरलाईन्सका कर्मचारी प्रेमलाल चौधरीले प्रहरी हिरासत भित्रै आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत भित्र रहेको शौचालयमा शुक्रबार विहान पासो लगाएर आत्महत्या गरेका हुन्।चौधरी लामो समयदेखि एयरलाईन्समा लोडरको काम गर्दै आएका थिए। सुन लुटपाट घटनाको छानविन गर्न गठित समितिले चौधरी लगायत २१ जनालाई पक्राउ गरिसकेको छ।
समितिका एक सदस्यका अनुसार चौधरीलाई बयान लिईएको थियो। सिंहदरबार वृत्तले चौधरीलाई देख्ने वित्तिकै उपचारकालागि वीर अस्पताल लगिएपनि उनको बाटैमा मृत्यु भएको थियो। यसैबीच समितिले घटना छानविन गर्न न्यूरोड स्थित आरके ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय माता दी गोल्ड प्यालेसका सञ्चालक पवन अग्रवाललाई पक्राउ गरेको छ। तस्करीको सुन शाक्य र अग्रवालले खरिद गरेको आशंकामा उनिहरुमाथि अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको हो।
समितिले घटना छानविनका लागि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित कसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाईसकेको छ। म्हाशाखाले कार्यक्षेत्र भन्दा बाहिर गएर सुनका भरिया भनिएका मोरङका सनम शाक्यको शव बरामद गरेको थियो। तर सुनका मुख्य नाईके गोरे भन्ने चुडामणी उप्रेति भने अझै फरार छन्।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार शुक्रबार विहान पौन पाँच बजे चौधरी शौचालय छिरेका थिए। उनी लामो समय ननिस्किएपछि झुण्डिरहेको अवस्थामा फेला परेका थिए। उपचार गर्न वीरमा लगिएपनि सम्भव नभएको जानकारी थापाले दिए।
जुत्ताको तलुवा भित्र दुई किलो आठ सय ग्राम सुन
गृहमन्त्री राम बहादुर थापाले त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट टनका टन सुन तस्करी भईरहेको अभिव्यक्ति सेलाउन नपाउँदै प्रहरीले विमानस्थलबाट झण्डै तीन किलो सुन बरामद गरेको छ। थाई एयरलाईन्सबाट काठमाडौं उत्रिएका दुई भारतीयले जुत्ताको तलुवा भित्र सुन लुकाएर ल्याएका थिए। विमानस्थल सुरक्षा गार्डका एसएसपी प्रेम चन्दले पक्राउ परेका भारतीय नागरिकमाथि छानविन भईरहेको बताए। उनले अनुसन्धानकै क्रममा रहेकाले नाम बताउन नमिल्ने बताए।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।